कञ्चनपुरको पुनर्वास घटनाको विरोधमा शुक्रबार बिहानैदेखि सुदूरपश्चिममा स्वत:स्फूर्त रुपमा बन्दको आयोजना गरिएको छ । तराईका कैलाली, कञ्चनपुरका बजार शुक्रबार बिहानैदेखि बन्द छन् । यातायातका सवारी साधन चलेका छैनन् भने सीमा क्षेत्रका बजारमा तनाव बढ्दै जान थालेको छ ।
कैलालीको नेपाल-भारत सीमा क्षेत्रमा बिहानैदेखि प्रदर्शन भइरहेको छ भने प्रदर्शनकारीले भन्सार कार्यालयमा रहेको ब्यारियर तोडफोड समेत गरेका छन् । नेकपा माओवादी विप्लव समूह र माओवादी केन्द्रका कार्यकर्ताको बाहुल्यता रहेको पाँच सय बढीको जुलुस सीमा क्षेत्रमा प्रदर्शन गरिरहेको छ । मोहना नदी पारी जान नदिन प्रहरीले सामान्य बल प्रयोग गरे पनि सीमा क्षेत्रको डोकेबजार क्षेत्र तनावग्रस्त भएको छ ।
घटना भएको पुनर्वासको आइविआरडी, त्रिभुवनबस्ती, बेलौरी, खजुरीया सीमा लगायतका क्षेत्रमा पनि बिहानैदेखि प्रदर्शन भइरहेका छन् । सीमा क्षेत्रमा रहेका भारतीय व्यवसायीका केही पसलमा आगजनी समेत गरिएको छ । प्रहरीले प्रदर्शनकारीलाई रोक्न कुनै पहल नगरेको स्थानीयले गुनासो गरेका छन् ।
पुनर्वास र त्रिभुवनबस्ती क्षेत्रका अधिकांश भारतीय व्यवसायीले घर पसल छोडेका छन् । पुनर्वास क्षेत्रमा काम गरिरहेका पत्रकार दिपेन्द्र बस्नेतले दिएको जानकारीअनुसार स्थिति तनावपूर्ण छ भने कुनै पनि समय हिंसा भड्किन सक्ने सम्भावना छ । सीमानामा रहेका सबै नेपाली बजार बन्द गरिएका छन् । कञ्चनपुर र कैलाली जिल्लाका सीमानामा रहेका अधिकांश सीमा क्षेत्रमा आवतजावत समेत बन्द भएको छ ।
No comments:
Post a Comment