७ चैत, कैलाली । गत फागुन २६ गते कञ्चनपुरको त्रिवेणी बजारमा भारतीय प्रहरीको कुटाइबाट घाइते भएका टिकाराम चापागाईको उपचारमा समस्या भएको छ । सरकारी बेवास्ताका कारण उपचारमा समस्या भएको चापागाईंको परिवारले बताएको छ ।
सीमा बिबाद हुँदा भारतीय सीमा सुरक्षा बल एसएसबीको लाठीबाट गम्भीर घाइते भएका चापापाईंलाई तत्काल उपचारका लागि धनगढी लगिएको थियो । धनगढीमा उपचार हुन नसक्ने बताइएपछि नेपालगञ्जको निजी अस्पताल वेष्टर्न मेडिकलमा उनको उपचार गराईएको थियो ।
भारतीय प्रहरीको लाठीबाट बेलौरी नगरपालिका शान्तिपुरका स्थायी बासिन्दा टिकारामको टाउकोमा गम्भीर चोट लागेको छ । तर, अस्पतालले उपचारै नसकी डिस्चार्ज गरिदिएको परिवारको आरोप छ । आर्थिक अभावका कारण उपचारमा झन् समस्या भएको टिकारामकी श्रीमती सविना चापागाईंले बताइन् ।
टिकारामकी श्रीमती भन्छिन्ः देश जोगाउँन लड्नेलाई राज्यले बेवास्ता गर्यो
टिकारामको उपचारका लागि सरकारबाट कुनै आर्थिक सहयोग नभएको भन्दै सविनाले गुनासो पोखिन् । ‘उपचारमा डेढ लाख रुपैयाँ खर्च भइसक्यो, सरकारबाट कुनै सहयोग पाएको छैन ।’ सविनाले भनिन्, ‘अब बाँकी उपचार कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।’
उपचारका लागि बेलौरी नगरपालिकाले १५ हजार रुपैयाँ सहयोग गरेको थियो । उठ्न बस्न नसक्ने श्रीमानको अवस्थाका कारण चापागाई परिवारमा दुख छाएको छ । मलिन अनुहार लगाउँदै सविनाले भनिन् ‘राज्यले सीमा विवादमा घाइते भएका श्रीमानको राम्रो ठाउँमा उपचार गरिदिए चाँडै निको हुने थियो कि ?’ मलिन अनुहार बनाउँदै सविनाले आशा व्यक्त गरिन् । उनीहरुको घरजग्गा केही पनि छैन । टिकारामको परिवार नजिकैको सुमन सापकोटाको घरमा कोठा भाडामा बस्दै आइरहेका छन् ।
स्रोत:- अनलाईन खबर
No comments:
Post a Comment