भारतले अझै छाडेन पानी - Greater Nepal
demo-image
gandak-nahar-5a4c482fa6f874.39697828

भारतले अझै छाडेन पानी

Share This
bs_c
गहुँबालीमा सिँचाइ गर्ने बेला भारतले गण्डक नहरमा पानी नछाडेपछि पर्सा, बारा र रौतहटका किसान मर्कामा परेका छन्।सम्झौताअनुसार भारतीय पक्षले वर्षमा दुईपटक नेपालतर्फको नहरमा आठ सय ५० क्युसेक पानी छाड्नुपर्ने हुन्छ । धानका लागि असार २० गतेसम्म र गहुँका लागि पुस १० गतेसम्ममा भारतीय पक्षले पानी छाड्नुपर्ने सम्झौतामा उल्लेख छ । अहिले गहुँबालीमा सिँचाइ गर्नुपर्ने बेला भइसक्दा पनि भारतीय पक्षले पानी छाडेको छैन । नारायणी सिँचाइ डिभिजन कार्यालय वीरगन्जका अनुसार यसपालि हिउँदमा पानी नआउने सम्भावना देखिएको छ ।

पानी नआएछि सुक्खा भएको पर्साको गण्डक नहर ।
गत साउनमा बाढीले नहरमा क्षति पुर्‍याएको नहर मर्मतका लागि भन्दै भारतीय पक्षले अहिलेसम्म पानी नछाडेको हो । पानी नआउँदा पर्सा, बारा र रौतहटका हजारौं किसान सिँचाइ सुविधाबाट वञ्चित भएका छन् ।

भारतको रामनगर र इनर्वाको अगाडि पर्ने मेहनबलमा नहर मर्मत गर्नुपर्ने भएकाले पानी नछाडेको भारतको वाल्मीकि नगरका इन्जिनियर सुभेष रामले बताए । नहरको साइफन र सीआर मर्मतका लागि टेन्डर परिसकेकाले तत्काल पानी छाड्न नमिल्ने रामनगरका इन्जिनियर शैलेष सिंहको भनाइ छ ।

भारतको भैंसालोटन, रामनगर हुँदै गण्डक नहरको भौतिक संरचना पर्सा, बारा र रौतहटसम्म निर्माण गरिएको छ । पर्साबाट रौतहटसम्म ८१ किलोमिटरको नहरबाट करिब १८ हजार हेक्टर क्षेत्रफलमा किसानले सिँचाइ गर्दै आएका छन् । ‘गहुँबालीमा पानी पटाउने बेला भइसक्यो तर गण्डक नहरमा एक थोपा पनि पानी छैन’, वीरगन्जको लिपनीविर्ताका अमरदेव राउत कुर्मीले भने, ‘खेतनजिकै कुनै पोखरी वा घोल पनि छैन । यसपालि गहुँबाली बिग्रने भयो ।’

नारायणी सिँचाइ डिभिजन प्रमुख राजेन्द्र साहले पानी छाड्नका लागि भारतको जल संसाधन विभागलाई पत्राचार गरे पनि जवाफ नआएको बताए । ‘बाढीले नेपालतर्फ नहरका २६ स्थानमा ड्याम भत्काएको थियो, जुन हामीले मर्मत गरिसकेका छौं’, उनले भने, ‘भारततर्फ क्षति पुगेको नहरको सीआर र साइफन मर्मत गर्ने काम भइरहेको छ भन्दै भारतीय पक्षले यताको नहरमा पानी दिएको छैन ।’ उनका अनुसार काम नसकिएसम्म पानी नछाड्ने भारतीय पक्षको अडान छ । यो समस्याबारे सिँचाइ डिभिजनले विभागमा मंसिर २८ गते पत्राचार गरेको थियो । यसअघि पनि भारतीय पक्षले पानी नदिँदा धानबालीमा असर परेको थियो ।

Source :- Annapurna Post
Comment Using!!

No comments:

Post a Comment

Pages