तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप - Greater Nepal
तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप

तीन सय वर्षअघि बनेको रानीपोखरीको फेरिँदो स्वरुप

Share This
रानीपोखरी बनेको तीन सय वर्ष नाघ्यो । वि.सं. १७२७ मा प्रताप मल्लले बनाएका हुन् रानीपोखरी । यो बीचमा रानीपोखरी बीचको बालगोपालेश्वर मन्दिरमा निकै परिवर्तन आएको बेला बेलाको तस्बिरले देखाएका छन् । भुइँचालोले मन्दिरमा क्षति पुगेपछि यसलाई महानगरले आधुनिकीकरण गर्न खोज्यो । त्यही कारण अहिले चर्चामा छ- रानीपोखरी । यसमा कसरी र के कस्ता परिवर्तन आए ?

loading...
रानीपोखरीको सबैभन्दा पुरानो एउटा चित्र सार्वजनिक भएको छ। यो चित्रले रानीपोखरीको धेरै स्वरुप परिवर्तन भएको देखाउँछ। रानीपोखरीको यो चित्र पर्सियाका राजकुमारको भ्रमणको समयमा बनाइएको रहेछ। सन् १८४४ देखि १८४६ सम्म भारत हुँदै नेपालको भ्रमण गरेका रहेछन् राजकुमार वल्डेमरले। जर्मनीको एक पत्रिकाले जनाएअनुसार आफूसँग थुप्रै कलाकार साथै आएका थिए। भ्रमण दलका एक चित्रकारले बनाएको रानीपाखरीको चित्र जर्मनीको एउटा पत्रिकामा छापिएको रहेछ।
भुइँचालोले भत्काउनुभन्दा अघि रानीपोखरी बीचको यमलेश्वर महादेवको मन्दिरको शैली र यो चित्रमा भएको यमलेश्वर मन्दिरको शैली फरक छ। भुइँचालोले भत्कनु अघि यो मन्दिर गुम्बज शैलीमा थियो। पर्सियाका चित्रकारले बनाएको चित्रमा चाहिँ शिखरशैलीमा देखाइएको छ। शिखरशैलीको मन्दिर भएको यो चित्र कैलाश जर्नलमा पनि छापिएको थियो।

कसरी परिवर्तन भयो मन्दिरको शैली? संस्कृतिविद् यज्ञमानपति बज्राचार्यका अनुसार राणाहरुले नियोजित रुपमा काठमाडौंका मौलिकता शैली मासे। मन्दिर, भवनलगायतमा पश्चिमी शैली अपनाए। त्यसैको सिकार रानीपोखरी पनि भयो। शिखरशैली मासेर यसलाई मुगल शैलीमा ढालियो।

बज्राचार्यका अनुसार जंगबहादुरकै शासनकालमा राजधानीका प्राचीन नेवारी कलालाई अन्धधुन्ध पश्चिमीकरण भयो। वि.सं. १९०३ सालमा प्रधानमन्त्री भएका जंगबहादुर १९०७ मा युरोप घुम्न गए। युरोप घुमेर आएपछि यहाँ त्यहाँको वास्तुशास्त्र अनुसार घर निर्माण गर्न थाले। मठमन्दिर बनाए। त्यसमा पनि रोम शैली भित्र्याए। ‘हाम्रो मौलिकता त्यही बेलादेखि मासिन थालेको हो’, बज्राचार्य भन्छन्, ‘संस्कृतिमा आक्रमण गर्ने क्रम निरन्तर छ। भुइँचालो आययता पनि हाम्रो मौलिकता मास्ने षड्यन्त्र भइरहेको छ।’

भीमसेन थापाले मुगल शैलीको धरहरा बनाए। बागदरबार बनाए। यहाँका अधिकांश राणाकालीन दरबार मुगल र रोमको प्रभाव छन्। जंगबहादुरले त्यही क्रममा रानीपाखेरी पनि मुगल शैलीमा निर्माण गर्न लगाएको सम्पदा संरक्षण अभियान चलाइरहेका आलोकसिद्धी तुलाधर बताउँछन्। १९९० सालमा भुइँचालो गएपछि उपत्यकाको धेरै सम्पदा भत्किए। त्यही बेला जुद्धशम्शेरले रानीपोखरीको पनि जीर्णोद्धार गरेको इतिहासमा पाइन्छ।रानीपोखरीको बीचमा भएको बालगोपालेश्वर (यमलेश्वर) मन्दिरजस्तै अरु थुप्रै मन्दिर शिखरशैलीमा छन्। शिखरशैलीमा बनेका मन्दिर पर्वतको चुलीझैं माथितिर चुलिँदै गएका हुन्छन्। शिखरजस्तै चुच्चो आकारको देखिने हुनाले यो शैलीलाई शिखरशैली भनिन थालियो। छुट्टै छानो नहुनु यो शैलीको विशेषता हो।

रानीपोखरी शोकको प्रतिकका रुपमा लिइन्छ। आफ्ना माइला छोरा चक्रवर्तेन्द्रको अल्पायुमै मृत्यु भयो। जेठा छोरा भूपेन्द्र मल्लको पनि मृत्यु भएकाले माहिला छोरालाई भावी राजाको रुपमा अघि सारिएको थियो। चक्रवर्तेन्दको नामको अगाडि ‘महाराजधिराज नेपालेश्वर राजराजेन्द्र’ भन्ने पदावली समेत प्रयोग गर्न थालिएको प्रताप मल्लले स्थापना गरेको स्तम्भलेखमा उल्लेख छ। उक्त स्तम्भ वसन्तपुर क्षेत्रको देगुतले मन्दिर अगाडि छ।

प्रताप मल्लले दुई रानी गुमाइसेका थिए। कुचविहार राज्यको राजकन्या रुपमति र उनको बहिनी अनन्तप्रियासँग पहिल्यै विवाह गरिसकेका थिए। भगवतीपुर राज्यकी राजकन्या लालमति र राजमतिसँग पनि विवाह गरे। प्रभावती नामकी अर्की रानी पनि थिइन्। पाँच रानीबाट भूपेन्द्र, चक्रवर्तेन्द्र, महिपर्तेन्द्र, नृपेन्द्र र पार्थीबेन्द्र गरी पाँच राजकुमार जन्मिए। पाँच रानीमध्ये रुपमति र राजमतिको अल्पायुमै निधन भयो। त्यही भएर प्रताप मल्ल मानसिक रुपमा विक्षिप्त भएका थिए। भौतिक रुपमासँगै नरहे पनि रानीसँग विछोड हुन नपरोस् र यो जन्ममा साथमै रहन पाइयोस् भन्ने कामना गर्दै रानी रुपमति र राजमतिको सम्झनामा वसन्तपुर क्षेत्रमा बालगोपाल (कृष्ण) मन्दिर बनाए। त्यहाँ वंशगोपाल, सत्यभामा र रुक्मिणीको प्रतिमा निर्माण गराए। आफ्ना दुइ रानीको सम्झनामा सालिक समेत राख्न लगाए। त्यहाँ रुक्मणी, सत्यभामा र वंशगोपालको मूर्ति राख्न लगाए। आफ्ना अर्का दुई रानी अनन्तप्रिया र प्रभावतीको सालिक, पाँच छोरा भूपालेन्द्र, नृपेन्द्र, पार्थिवेन्द्र, महीपतेन्द्र, चक्रवर्तेन्दका सालिक पनि राख्न लगाए। आफ्नो सालिक पनि राखे।


युवराजको पदवी पाएसँगै चक्रवर्तेन्द्रको निधन भयो। त्यसको शोकमा डुबेकी रानीलाई शान्त पार्न काठमाडौंको उत्तरपूर्वी कुनामा पोखरी खन्न लगाए। पोखरीमा प्रयाग, काशी, मुक्तिक्षेत्र, वैद्यनाथ धाम, सप्तगण्डकी, सप्तकौशीकी, गंगासागरलगायत प्रशिद्ध तीर्थस्थलबाट जल ल्याएर पोखरी स्थापना गरिएको थियो। यसलाई नेवारी भाषामा न्हुहु पुख पोखरी भनेर चिनिन्थ्यो पहिला। नेवारी भाषामा न्हुहु पोखरी भनेको नयाँ पोखरी हो। यसले विस्तारै रानीपोखरीको रुपमा चर्चा पाउन थाल्यो।
पोखरीको बीचमा यमलेश्वर मन्दिर स्थापना गरे। पर्सियाका कलाकारले चित्रमा कोरिएकोलाई आधार मान्ने हो भने यो शिखरशैलीको थियो। शिखरशैलीको सुरुआत लिच्छवीकालमै भएको मानिन्छ। चिनियाँ यात्री वाङह्वेन त्सेले नेपाली मन्दिरको शैलीबारेमा वर्णन गरेको इतिहास पाइन्छ। उनले लिच्छवीकालमा बनेका मन्दिर शिखरशैलीको भएको बताएका थिए। उनी लिच्छवी राजा नरेन्द्रदेवको पालामा नेपाल भ्रमण गरेका थिए। त्यतिबेलाका मन्दिर प्यागोडाशैली र शिखरशैलीमा बनेको उनले वर्णन गरेका छन्। प्यागोडा शैलीमा छानाको तहै तह बनाएर लगिन्छ। शिखरशैलीमाचाहिँ तलबाट माथितिर क्रमश सानो हुँदै लगिन्छ। टुप्पामा गजुर बनाएर टुंग्याइन्छ।

लिच्छवीकालमा सुरु भएपनि मध्यकालमा शिखरशैली लोकप्रिय भएको मानिन्छ। खासगरी सत्रौं शताब्दीको मध्यतिर र अठारौं शताब्दीको सुरुतिर प्रस्तर र इँटाबाट यस्तो शैलीको मन्दिर बन्न क्रम तीव्र भयो। मल्लराजाहरुले कलामा नवीनता ल्याउन पनि यो शैली विस्तार गरेको इतिहासकारहरु बताउँछन्। नवीन शैली विस्तार गर्ने मल्ल राजाहरुको सोच अनुसार नै शिखरशैलीका थुप्रै मठ मन्दिर बनाइए। त्यही मध्यकालमै बनेको सम्पदा हो रानीपोखरी। ‘त्यसबेला शिखरशैली लोकप्रिय रहेकाले पनि पोखरीबीचको मन्दिर शिखरशैलीमा हुनु पर्छ,’ तुलाधर भन्छन्, ‘त्यही भएर अब यसको थप अध्ययन गरेर पुरानै शैलीमा लैजानु पर्छ भन्ने हाम्रो माग।’

रानीपोखरी कस्तो बनाउने? राष्ट्रिय भूकम्प दिवसको अवसर पारेर अघिल्लो माघ २ गते यसको पुनर्निर्माणको शिलान्यास गरियो। त्यही डिजाइनलाई मान्ने हो भने पोखरी अत्याधुनिक बनाइने छ। रंगीन फोहोरा दिइने छ। रानीपाखेरी वरिपरिको सौन्दर्यतालाई ध्यान दिएर पुनर्निर्माण गरिने छ। डुंगा चलाइने छ। स्थानीयवासीको मागलाई सुन्ने हो भने यहाँ रंगिन फोहोरा बनाउने दिइने छैन। डुंगा चलाउन दिइने छैन। ‘यो पवित्र पोखरी हो,’ स्थानीयवासी शैलेश शाक्य भन्छन्, ‘पहिला जुन रुपमा थियो, त्यही रुपमा यसको पुनर्निर्माण गर्नु पर्छ।’
माघमा शिलान्यास भएको रानीपोखरी वैशाखबाट पुनर्निर्माण सुरु भयो। महानगरले पुरातात्विक मान्यताविपरीत रड, कंक्रिट र सिमेन्ट प्रयोग गरेर बनायो। यसको चौतर्फी विरोध भएपछि पुरातत्व विभागले भत्काएर फेरि पुरानै स्वरुपमा बनाउन आदेश दियो। फेरि नयाँ डिजाइन गरेर पठायो। पुरातात्विक मान्यताअनुसार बनाउन आफूसँग जनशक्ति नभएको भन्दै महानगरले बनाउन नसक्ने जानकारी पुरातत्वलाई गरायो। पुरातत्वले तीन साता पहिला आफैं बनाउन जिम्मेवारी लिएको छ।
रानीपाखेरीभित्रको यमलेश्वर महादेव पुरातत्वले बनाउने र बाहिरी स्वरुप पुनर्निर्माण गर्ने जिम्माचाहिँ महानगरले नै लिएको छ। वि.सं १७२७ मा बनेको रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर महादेव मन्दिर क्षतिग्रस्त छ अझै। मन्दिर बनाउने क्रममा पोखरी सुकाइयो। यहाँ भएकामध्ये ५ समय माछा बालाजु उद्यानमा सारियो। पोखरीको बीच भागमा शिवलिंग, महिषाशुर मर्दिनीको प्रतिमा राखिएका छन्। हरेक वर्ष तिहारमा खुल्थ्यो यो मन्दिर। दिदीबहिनी नहुनले दाजुभाइले टीका लगाउथे यहाँ। दुइ वर्ष भयो यो परम्परा रोकिएको। केही वर्षयता पोखरी राजधानीमा बस्ने तराईवासीको लागि छठ मान्ने केन्द्र बन्दै गएको थियो। त्यो पनि बन्द भयो। बाहिरै भए पनि तिहारको भाइटीका भने भइ नै रहेको छ। मन्दिर ढले पनि आस्था ढल्दो रहेनछ भन्ने देखाउँछ यसले।

प्रताप मल्लले आफ्ना दुइ रानीको सम्झनामा सालिक समेत राख्न लगाए। आफ्नो दरबार अगाडि दुइ रानी रुपमति र राजमतिको सम्झनामा कृष्ण मन्दिर पनि बनाए। त्यहाँ रुक्मणी, सत्यभामा र वंशगोपालको मूर्ति राख्न लगाए। आफ्ना अर्का दुइ रानी अनन्तप्रिया र प्रभावतीको सालिक, ५ छोरा भूपालेन्द्र, नृपेन्द्र, पार्थिवेन्द्र, महीपतेन्द्र, चक्रवर्तेन्दका सालिक पनि राख्न लगाए। आफ्नो सालिक पनि राखे।

संस्कृतिविद् बज्राचार्यका अनुसार रानीपोखरीमा पानी तान्त्रिक विधि अनुसार भरिएको थियो। अब यहाँ पानी भर्न पनि तान्त्रिक विधि अपनाउनु पर्ने उनी बताउँछन्। प्रताप मल्ल धार्मिक स्वभावका थिए। उनी सबै धर्मलाई समान महत्व दिन्थे। यिनले हिन्दुका मठमन्दिर, देवालय बनाए। बौद्धका चैत्य, गुम्बालगायत निर्माण, जीर्णोद्धार गर्न लगाए। तर, यिनको विशेष झुकाव चाहिँ हिन्दु र त्यसमा पनि तान्त्रिक परम्परामा बढी थियो। उनले हिन्दु र बौद्ध धर्मका तान्त्रिकलाई विशेष सम्मान गर्थे। उनको दरबारमा शैव, हिन्दु, बौद्ध धर्मका तान्त्रिकलाई सम्मानका साथ राखेका थिए। भारतबाट झिकाइएका तान्त्रिक समेत थिए उनका दरबारमा। शैव तान्त्रिक गुरु ज्ञानानन्द, बौद्ध तान्त्रिक जामुना गुभाजु उनका दरबारमा सम्मानका साथ राखिएका थिए। जामुना गुभाजुले तान्त्रिक चमत्कार गर्ने गरेका लोकोत्ती नेवारी समुदायमा अझै पाइने इतिहासकार बताउँछन्।
पानी मात्रै तान्त्रिक विधि होइन, अन्य संरचना पनि प्रताप मल्लले आफ्नो तान्त्रिक विश्वासअनुसार बनाएका थिए। त्यतिबेला भूतप्रेतमा विश्वास गरिन्थ्यो। प्रतापको छोरालाई भूतले खाएको विश्वास गरियो। छोरा खाने भूतलाई हात्तीले कुल्चेर मार्‍यो। त्यही विश्वासले रानीपोखरी छेउमा हात्तीले भूतलाई कुल्चेको प्रतिमा राखिएको छ। रानीपोखरी स्वदेशी र विदेशी पर्यटकको लागि आकर्षण केन्द्र हो। पोखरीमा ४ वटा स्टेप छन्। २२ फिट ४ इन्चको पोखरीबाट मन्दिरसम्म पुग्न पश्चिमतिरबाट पुल निर्माण गरिएको छ। यहाँ माछा पौडिरहेका दृश्य आकर्षक देखिन्थे। यी दृश्य अहिले देखिँदैन। 

काठमाडौंका सबैजसो सम्पदासँग इतिहास जोडिएको छ। भुइँचालोले सम्पदामा झन् चासो बढाइदिएको स्थानीयवासी वीरेन्द्रभक्त श्रेष्ठ बताउँछन्। ‘खोजी बढेको छ,’ उनी भन्छन्, ‘नयाँ तथ्य बाहिर आएका छन्। हाम्रा मौलिकता जोगिने गरी पुनर्निर्माण गर्नु पर्छ। रानीपोखरीको चित्रले लम्बाइ, चौंडाइ, उचाइबारे थाहा नहुन सक्छ तर पहिला शिखरशैलीको भएको चाहिँ पुष्टि भएको छ।’पुरानो चित्र अनुसार बनाउने हो भने रानीपाखेरीको स्वरुपै फेरिने छ। पुरानो चित्रअनुसार पुनर्निर्माण हुन्छ? पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन्, ‘फोटोग्राफ पाइयो भने पुरानै अवस्थामा लान पनि सकिन्छ। किताबमा लेखिएका विषय पनि आधार हुन सक्छन्। बलियो आधार भेटियो भने त्यही अनुसार पुननिर्माण गर्छौं।’

दामोदर न्यौपाने

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages