भारतीय आक्रमण किन ? - Greater Nepal
भारतीय आक्रमण किन ?

भारतीय आक्रमण किन ?

Share This
भारतीय सीमा सुरक्षा बलले फागुन २६ गते कञ्चनपुरको पुनर्वासमा गोविन्द गौतमको हत्या गर्‍यो । संयोगले त्यही साता सुधीर शर्माको ‘दसकपछिको देश र मधेस' (फागुन २७, कान्तिपुर) शीर्षकको लेख आयो । लेखमा भारतीय दूतावासका कुनै कर्मचारीको निवासमा भएको एउटा भोजमा प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव, प्रधानसेनापति राजेन्द्र क्षत्री, भारतीय राजदूत रणजित राय, महन्थ ठाकुर र राजेन्द्र महतोको उपस्थितिको चर्चा छ । नेपालका प्रायः सबै राष्ट्रिय दैनिकहरूले सम्पादकीयमार्फत कन्चनपुर घटनाको शिष्ट र जायज विरोध गरिसकेका छन् ।

कन्चनपुर घटनाको निन्दासँगै भोजमा भएको उपस्थिति, त्यहाँ नेपालको स्थानीय निर्वाचन र त्यसको सुरक्षा विषयमा भएको चर्चा, राजदूत रायको नेपालको आगामी दस वर्षको भविष्य कस्तो होला भन्ने प्रश्न, नेपालमा सबैलाई समेटेर जानुपर्छ भन्ने ‘भारतीय बटमलाइन' अनि भारत फर्कने दिनमा राजदूत रायले केही सम्पादकहरूसँगको ब्रेकफास्ट मिटिङमार्फत नेपाल द्वन्द्वमा जानेछ भनी दिएको सन्देश स्वाभाविक रूपमा नेपालको लागि चिन्ताको विषय बनेको छ ।

कन्चनपुरको आक्रमण सप्तरीको तिलाठीलगायत अन्य भारतीय आक्रमणको विरुद्धमा नेपालले पर्याप्त कूटनीतिक प्रयास नगरेको परिणाम हो । यसलाई केवल एउटा हबल्दारको बन्दुकबाट निस्केको गोलीमा सीमित गरेर अनुसन्धान गर्नु अर्को घटनाको निमन्त्रणा हो । रोजगारको सिलसिलामा भारत गएका नेपालीहरू सीमा सुरक्षा बलद्वारा लुटिएका थुप्रै उदाहरण छन् ।

श्रमजीवी नेपालीले आफ्नो पसिनाको कमाइको ठूलो हिस्सा भारतमै लुटिन्छ । सीमा क्षेत्रका स्थानीय भारतीय बजारमा नेपालीहरू लुटिनु, ठगिनु र अपमानित हुनु पंक्तिकारले पटकौं भोगेकै हो । त्यहाँ भारतीय डाँका, अपहरणकारी, लुटेरा सर्वत्र छन् । ज्यान गएको घटना मात्रै समाचारमा आएको हो । यस्तो परिस्थितिको कारणको खोजी काठमाडौंमा नगरिनुको कारण हो, नेपालका केही छद्म उदारवादी, केही सञ्चारकर्मी, केही राजनीतिज्ञ र केही बुद्धिजीवीहरूले प्रत्यक्ष–परोक्ष रूपले खाएको भारतको भात ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा भारतीय दूतावासको कर्मचारीको निवासमा भारतीय राजदूत, प्रमुख निर्वाचन आयुक्त, प्रधानसेनापति र निर्वाचन बिथोल्ने घोषणा गरेका नेताहरूको उपस्थितिमा देशको निर्वाचन र सुरक्षा विषयमा चर्चा गरिनु नेपालको लागि सामान्य होइनन् । उपस्थितिको हिसाबले त्यो भोज कसैको व्यक्तिगत पक्कै थिएन । प्रधानसेनापति, प्रमुख निर्वाचन आयुक्त र भारतीय राजदूत, के यो संयोग हो ?

यो उपस्थिति मात्रैले नेपालका संवेदनशील मुद्दामा भारतीय चासो र हाम्रो लम्पसारवाद प्रस्टै झल्किन्छ । स्मरण रहोस्, हालै अमेरिकी राष्ट्रपतिका सुरक्षा सल्लाहकारले विदेशी राजदूतसँग गरेको भेटघाटको विषयमा यथेष्ट जानकारी नदिएकाले उनलाई बर्खास्त गरिएको छ । नेपाली भाषामा सित्तैमा भात खानेलाई भाते भनिन्छ । यो भद्दा शब्दको प्रयोग गर्ने खालको उपस्थिति त्यहाँ थिएन ।

त्यसैले त्यो भोज सित्तैमा ख्वाइएको थिएन । सबैलाई समेट्न नसकेको अवस्थामा बहुमतमा टेकेर अगाडि बढ्ने व्यवस्था नै लोकतन्त्र हो । सबैलाई समेट्ने लोकतन्त्रको उदाहरण संसारमा कतै छैन । भारतको बटमलाइन यस्तो हो भने यो तुरुन्तै प्रतिवाद गर्ने विषय हो । नेपालका बुद्धिजीवीहरूले यसको व्यापक बहस गर्नु जरुरी छ, यो हस्तक्षेपकारी उपदेश सकारात्मक सन्देश होइन । ऐना देखाउन कश्मीरको उदाहरण पर्याप्त छ ।

भारतीयले नेपालमा उक्त भोजको आयोजना किन गरे र त्यहाँ ककसको उपस्थिति थियो भन्ने नेपालीको लागि बढी सरोकारको विषय हो । भोजको उद्देश्य र अन्य उपस्थितिको विषयमा भने लेख मौन छ । राजदूत राय भारत सरकारका एउटा सामान्य कर्मचारी हुन्, अराएको काम फत्ते गरेर उनी बिदा भए । महिमा गाउनुपर्ने व्यक्तित्व उनी होइनन् ।

यस्ता भोजहरू हजारौं भए होलान्, तर किन भए भन्ने विषयमा हामीले ध्यान दिएनौं, त्यसैले हामीले हाम्रा सिमानाको रक्षा गर्न सकेनौं । यता गोविन्द गौतमको हत्या भयो उता राजदूत रायले हामीले गोली चलाएको छैन भनेर भन्ने बकबास बोलिरहे । सामान्य कूटनीतिमा यो घटनामा राजदूत रायलाई बहिस्कार गर्नुपर्ने स्थिति हो । नेपालको स्थिति बिगार्न दिनरात खट्ने उनै हुन् । उल्टै एउटा राष्ट्रिय दैनिकमा उनको बकबास ‘नेपालले विचार नपुर्‍याउने हो भने १० वर्षमा यहाँको हालत अहिलेको भन्दा बिग्रनेछ । नेपाल ठूलो द्वन्द्वमा प्रवेश गर्न सक्छ' सन्देशात्मक महावाणीका रूपमा मुख्य लेखको विषय बन्यो । हामीले टाउको थापेकाले हो भारतले टाउकोमा टेकेको ।

नेपालको संविधानको विषयमा भारतीय दूतावासमा हुने बैठकहरू घाम झैं छर्लंग छन् । आफूलाई उदारवादी भन्नेले केही छद्म उदारवादीहरूले नाकाबन्दीको समेत कहिले दिल्लीमा र कहिले काठमाडौंमै भारतको समर्थन गरे । नेपाल सरकारले देशद्रोहको अभियोग लागेको व्यक्तिलाई समेत यिनीहरू निसर्त छोड्नुपर्ने भन्छन् । भारतले नेपालको संविधान परिवर्तन गर्ने खोजेको छ, संघीयताको सीमांकनमा उसको स्वार्थ छ । यी छद्म उदारवादीहरू यसमा भारतको पक्षमा उभिएका छन् ।

नेपालमा आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरू भारतको सिमानाले छेक्दैन तर भारतका त्यस्तै खालका व्यक्तिलाई भारतका प्रहरीले नेपालमै आएर समातेर लगेको प्रशस्तै उदाहरण छन् । उनीहरू काठमाडौंमै आएर अपराधीलाई समातेर लैजान्छन् । सीके राउत प्रकरणमा पूर्वप्रधानमन्त्री जस्तो सम्मानित व्यक्तिले सरकारको विरोध गर्नु के उदारवाद हो ? भारत सरकारले आतंकवादी भनेका केही व्यक्ति आफूलाई स्वतन्त्रता सेनानी भएको दाबी गर्छन् । यस्तै एउटा प्रकरणमा भारत सरकारले अज्फल गुरु नामक विद्रोहीलाई मृत्युदण्ड दिएको थियो ।

भारतको कानुनअनुसार त्यो भारतको नितान्त आन्तरिक मामिला हो, तर भारतमा उदारवादीहरूले त्यसको विरोध गरेका छन् । सीके राउतजस्तै स्थितिमा भारतमा पृथकतावादी नेता सैयद अली शाह गिलानी, यासिन मलिक, फारुक उमर पटकपटक पक्राउ परेका छन् । राउतलाई रिहा गर्नुपर्छ भन्ने बाबुराम जस्ता उदारवादीले यसमा मुख खोलेका छैनन् । राउत प्रकरणमा चर्को बोल्ने मानव अधिकारवादीहरू गोविन्द गौतम हत्यामा शीतनिद्रामा छन् । त्यसैले यो छद्म उदारवाद हो र यसको कारण हो भारतको भात ।

नेपालमा भारतीय राजदूत परिवर्तन हुने बेलामा छापाले नेपाल–भारत सम्बन्ध सुध्रिने लालसा पूर्ण समाचार लेख्छन् । भारतीय राजदूतले नेपालमा गर्ने क्रियाकलाप पूर्णरूपले हामीले उनीहरूसँग राखेको सम्बन्धमा भर पर्छ । सार्वभौमसत्ता सम्पन्न मुलुकमा हस्तक्षेप स्वीकार्य छैन भनेर कडा प्रतिवाद गरेको दिन राजदूत जो आए पनि फरक पर्दैन । नोटबन्दीबाट आफ्ना नागरिकलाई समस्या नपरोस् भनेर भारतले अनेक उपाय अपनाएको छ । मुम्बईमा चौकीदारी गरेर जम्मा गरेको नेपालीको रगत–पसिना त्यही नोटबन्दीले स्वाहा परेको छ नेपालमा । कतिका सपना चकनाचुर भएका छन् । सीमामा हुने आक्रमण, लुट, ठगी, अपहरण र फिरौतीको विषयमा विगतमा कुनै सरकारले भारतीय राजदूतलाई बोलाएर केरकार गरेको छैन, त्यसैले हुन्छ सीमामा आक्रमण ।

सन् १९९९ मा भारतको कारगिलमा भएको युद्धमा भारतीय सेनाको तर्फबाट क्याप्टेन मनोज पाण्डेले देखाएको बहादुरीको परिणामस्वरूप उनलाई मृत्युपर्यन्त भारतीय सेनाको सर्वोच्च पदक परमवीर चक्रले विभूषित गरियो । मौसमको विषम परिस्थिति, ठाडो उकालो र पहाडको टुप्पोबाट पारिका लडाकुको आक्रमण छल्दै उक्त टुप्पोमा पाइला टेकेर शत्रुहरूका बंकर–बंकर नष्ट गरेको उनको बहादुरीको जति प्रशंसा गरे पनि कम हुन्छ । त्यति असहज लडाइँ जित्ने क्याप्टेन पाण्डेलाई भारतीय सेनाले पूर्णरूपले सम्मान दिएको छ । भारतीय नागरिकहरूले उनीप्रति गरेको सम्मानस्वरूप उनको वीरगाथामा सिनेमा बनेका छन् । केही त थियो होला त्यो बटालियनको विशेषता जसको नेतृत्व गरेर क्याप्टेन पाण्डेले विजय श्री प्राप्त गरे ।

त्यस बटालियनले समाचारमा ठाउँ पाएन किनकि त्यो बटालियनका जवानहरू त्यहाँका नागरिक थिएनन् । उनीहरू जहाँका नागरिक हुन्, त्यहाँ उनीहरू उपेक्षित छन् । नाम नै परिचय भएको त्यो बटालियन हो ‘गोर्खा राइफल्स' । ती गोर्खा राइफल्सका जवानहरू कति मारिए, कति घाइते भए भन्नेबारेमा हाम्रो सरकारसँग कुनै तथ्यांक छैन ।

ठेलागाडावालाले समेत तिनीहरूलाई भारतमा अपमानपूर्वक बहादुर भनेर सम्बोधन गर्छन् । तिनीहरूलाई भारतले नागरिकसरह सम्मान गरेको छैन, बरु नेपालमा कुनै योगदान नगरेका अंगीकृत नागरिकहरू नेपालको संसद्सम्म पुगेका छन् । सीमाका नेपालका बजारमा भारतीय सामान्य व्यापारी कालान्तरमा सजिलै नेपालका नागरिक हुन्छन् र त्यस्तालाई कार्यकारी प्रमुखसम्मको पदमा पुग्न कुनै रोकटोक नहुनुपर्ने भारतको मागमा हाम्रा छद्म उदारवादीहरूको साथ छ । राजदूतको भोजमा यी विषयले ठाउँ पाउँदैनन्, त्यसैले हुन्छ सीमामा आक्रमण ।

भारतविरुद्ध सुरुङ युद्धको उद्घोष गर्ने क्रान्तिकारी नेता अहिले देशका प्रधानमन्त्री छन् । भारतविरुद्ध चर्का नारा दिएर पटकपटक ताली खाने नेता बाबुराम अझै राजनीतिमै छन् । त्यसैले नेपाल एक सार्वभौमसत्ता सम्पन्न मुलुक हो भनेर यिनले नेपालीका अगाडि भारतविरुद्ध औंला ठडाएर चर्को भाषण गर्छन्, तर त्यही औंला भारतीय राजदूतका अगाडि ठड्याउन सक्दैनन् । त्यसैले हुन्छ भारतीय हस्तक्षेप ।

नाकाबन्दीको जिम्मेवारी राजदूत रायले नेपालीमाथि थोपरेका छन् । संघीयताको सिमांकन र संविधान संशोधनको विषयमा भारतको हस्तक्षेप जगजाहेर छ । कन्चनपुर घटनामा भारतले गोली नचलाएको अभिव्यक्ति दिइसकेको छ ।यस्तो पृष्ठभूमिमा राजदूत रायले सोधेको दस वर्षपछिको नेपाल कस्तो होला भन्ने प्रश्न नेपालीका लागि कुनै सन्देशको विषय नभई निकट भविष्यमा पनि भारतको हस्तक्षेप नेपालमा जारी रहनेछ भन्ने हो । उक्त प्रश्नलाई बरु यसरी बुझ्न उपयुक्त हुन्छ ।

तिमीहरूले योग्यताको विकास र कदर गरेका छैनौं, विदेशीको भतेर खान लाम लगेर आउँछौं, अनि के होला दस वर्षमा तिमीहरूको हालत ? मित्रभाव राख्नलाई मानिसलाई खुवाउनुपर्छ भन्ने छैन । विवेकशील प्राणी भएकाले मानिसले कसैले कुनै नियतवश थालमा राखेको भात बहिस्कार गर्न सक्छ । त्यो बहिस्कार गर्ने क्षमता नै योग्यता हो । भारतीय दूतावासको थालको भातमा लात हान्ने क्षमता नभएसम्म अमरसिंह थापा र बलभद्र कुँवरका सन्तान भएको गर्व गर्नुको अब खासै अर्थ रहन्न ।

राजदूतको पद बेच्ने, प्रहरी प्रशासनमा योग्यताको अनादर गर्ने, न्यायालयमा राजनीतिक कार्यकर्ता भर्ने, स्वास्थ्योपचारमा लाखौं हसुर्ने, सरकारमा जानको लागि संविधानको विरोध र समर्थन दुवै गर्ने नेतृत्वले पदावधि सकिएर स्वदेश फर्कंदै गरेका राजदूत रायको प्रश्नको जवाफ दिने क्षमता राख्दैन । क्षमता नहुनु हाम्रो बौद्धिक गरिबी हो । क्षमता भए त्यो प्रश्नको स्पष्ट जवाफ एउटा प्रश्नै हो, ‘हु द हेल आर यु, आई रिपिट सर, हु द हेल आर यु ?

अन्त्यमा, राजदूत राय लामो समय कूटनीतिक सेवामा काम गरेका एक योग्य र असल व्यक्ति हुन् । राजदूतको पद उनले किनेका होइनन् । जुन देशको राहदानी उनको खल्तीमा छ, त्यसप्रति उनी बफादार छन् । उनीबाट यत्ति सिकेको राम्रो । प्रिय भाइ गोविन्द गौतमको आत्माको चिरशान्तिको कामना !

—भट्ट टेनिसी स्टेट युनिभर्सिटी अमेरिकाका एसोसिएट प्रोफेसर हुन् ।
स्रोत:- अन्नपूर्ण पोष्ट

No comments:

Post a Comment

Electronic currency exchange rates

Pages