गाउँले आफैंले नेपाल–भारत सीमा छुट्याएका छन् । दशगजा आसपास बस्ने नेपाली र भारतीय दुवैले मौसमअनुसार खेती गर्छन् । दुवै पक्षका भलमन्सा बसेर दशगजाको आधा/आधा जग्गा पनि बाँडेका छन् । दुवै पक्षले देशको सीमा छुट्याउन मल थुपारेका छन् । वारि डगौरा थारूको बस्ती छ भने पारि कठरिया थारूको । रहनसहन वेशभूषा सबै मिल्छ, तर उता राज्यबाट पाउने सबै सुविधा गाउँलेले पाउँछन् भने यताका गाउँका अधिकांशलाई आफूहरू नेपाली हौं भन्ने पनि जानकारी छैन ।
![]() |
मुलुककै सुगम जिल्ला मानिने कैलालीको रतनपुर गाविसमा पर्ने हौसलपुर वर्षौंदेखि सरकारी सेवासुविधाविहीन अवस्थामा छ । गाउँमा ३० भन्दा बढी परिवारको बसोबास छ । चार सयभन्दा बढी जनसंख्या छ । विद्यालय, खानेपानी, स्वास्थ्य संस्था, बिजुली र स्वास्थ्य स्वयंसेविकालगायत राज्यबाट पाउने कुनै पनि सुविधा गाउँलेले पाएका छैनन् ।
डेढ सयभन्दा बढी बालबालिका सीमापारिको स्कुलमा पढ्न जान्छन् । आफ्नो देशबारे उनीहरूलाई केही जानकारी नै छैन । कक्षा ९ मा पढ्ने नीता चौधरीले गाविस भवनसमेत देखेकी छैनन् । गाउँका कुनै पनि बालबालिकालाई नेपाली बोल्न आउँदैन । ‘मोहनापारि जाने काम पर्दैन,’ उनले हिन्दीमै भनिन्, ‘वर्षातका बेला जान सकिँदैन, अरू बेला जाने काम नै पर्दैन ।’
मलको थुप्रोले छुट्याइएको छ दुई देशको सिमाना‘हामीले लालपुर्जासमेत पाएका छैनौं,’ गाउँका भलमन्सा श्याम चौधरीले भने । करिब २ सय मिटरको दूरीमा रहेको भारतीय बजार र बस्ती नै यहाँका बासिन्दाको सुखदु:खको साथी हो । ‘गाविस खुला दिसामुक्त भएपछि पहिलो पटक गाउँमा गाविस सचिव सन्तोष चौधरी पुगेका हुन्,’ भलमन्सा चौधरीले भने, ‘वर्षातका ५ महिना मोहना नदीका कारण गाउँ छिर्न सकिँदैन । स्वास्थ्य, उपचार, शिक्षा, रोजगारी र किनमेल सबै भारतमै निर्भर हुनुपर्छ ।’ आफू भलमन्सा भएपछि गाउँलाई देशसँग जोड्न उनले प्रयास नगरेका होइनन् तर कुनै पनि राजनीतिक दल र राज्यका निकायले चासो नदेखाएको उनको दुखेसो छ ।
राज्यले दिने एउटै सुविधा पाएका छैनन् गाउँलेले
गाउँको आधाभन्दा बढी जग्गा मोहना नदीले कटान गरिसकेको छ । जन्मेदेखि अहिलेसम्म गाउँका कुनै पनि बालबालिकाले खोप पाएका छैनन् । गतसाता प्रजिअ गोविन्द रिजालसहितको टोली गाउँमा पुग्दा गाउँले छक्कै परे । स्थानीय युवा विक्रम चौधरी भन्छन्, ‘पहिलो पटक गाउँमा प्रजिअ, प्रहरी प्रमुख आए ।’ प्रजिअसँग उनीहरूले आफ्ना पीडा र गुनासा पोखे । ‘गाउँका धेरै बूढापाका हामी नेपाली हौं कि भारतीय भन्ने जानकारी नै नपाई बितिसके,’ विक्रमले भने, ‘रतनपुर गाविसमा चौधरी समुदायका सन्तोष चौधरी सचिव भएर आएपछि मात्र मैले पनि नेपाली भएको जानकारी पाएको हुँ ।’
पहिलो पटक यो गाउँमा पुगेका कैलालीका प्रजिअ रिजालले ‘देश नभएको गाउँ पुगेको’ टिप्पणी गरे । ‘देश नै नचिनेका गाउँलेका तमाम समस्या छन्,’ उनले भने, ‘कैलालीजस्तो सुगम जिल्लामा पनि यस्तो स्थिति हुनु दु:खदायी हो ।’ देशको सिमानाको इमानदारीपूर्वक रक्षा गरिरहेका हौसलपुरवासीले भने अझै पनि धेरै आशा र विश्वास गर्न सकेका छैनन् । प्रजिअ रिजालले आश्वासन दिए पनि आफूहरू देशका नागरिकसरह बाँच्न पाउने गाउँलेले कल्पना नगरेको भलमन्सा चौधरीले बताए । उनले भने, ‘हेरौं, पहिलो पटक प्रजिअ गाउँ आएका छन्, केही भइहाल्यो भने ठीकै छ, नत्र हामीले आफ्नो नियति भोगिरहेकै छौं नि ।’
स्रोत:-कान्तिपुर पोष्ट
No comments:
Post a Comment