![]() |
सन् १८५७ मा बङ्गालको देशी सेनाको विद्रोहपछि भएका उपद्रवहरु ताक नेपालका श्री ५ महाराजधिराजले सुगौली सन्धिद्धारा बेलायत सरकार र नेपाल सरकारका बीचमा स्थापित शान्ति र मैत्रीका सम्बन्धहरुलाई इमान्दारी साथ कायम मात्रै गरिबक्सेन, सीमान्त जिल्लाहरुमा सुव्यवस्थाको संरक्षणका लागि बेलायती अधिकारी वर्गका प्रबन्धमा स्वेच्छाले फौजहरु पनि राखिबक्सियो तथा त्यसपछि लगत्तै लखनऊलाई फेरि अधिकारमा ल्याउने र विद्रोहीहरुलाई हराउने अन्तिम कार्यमा बेलायती सेनालाई सहयोग गर्न एउटा फौज पनि पठाइबक्स्यो ।
नेपाल राष्ट्रले बेलायती सरकारलाई अग्रगण्य सेवाहरु अर्पित गरेको सम्मानमा सन् १८१५ सम्म नेपाल राष्ट्रको अधिकारमा रहिआएका र उक्त सन्धिअन्तर्गत त्यसै साथ बेलायती सरकारलाई समर्पण गरिएका काली नदी र गोरखपुर जिल्लाका बीचमा पर्ने जम्मै मैदानी जग्गाहरु श्री ५ महाराजधिराजलाई फर्काउने इच्छाको घोषणा यी फौजी कारबाहीहरुको समाप्तिमा भाइसराय र महाराज्यपालले गर्नुभयो ।
बेलायती सरकारले सीमा निर्धारणका लागि नियुक्त गरेका आयुक्तहरुद्धारा नेपाल दरबारले खटाएका आयुक्तहरुको उपस्थितिमा यी जमीनहरु अकिंत गरी स्थापित गरिएका छन्, दुई राष्ट्रहरुको भविष्यको सिमाना छुट्याउने ईट वा ढुङ्गाहरुका स्तम्भहरु ठड्याइएका छन् र नेपाली अधिकारीहरुलाई उक्त भूमि औपचारिकरुपले सुम्पिसकिएको छ ।
यस इलाकाको अविच्छिन्न स्वामित्वमा नेपाल राष्ट्रलाई बढी औपचारिकरुपले सुरक्षित गर्नका लागि र पुनरुद्धारको सुअवसरलाई भव्यरुपले प्रकट गर्नका लागि तल लेखिएको सन्धि दुई राष्ट्रहरुका बीचमा सम्पन्न गरिएको छ ।
धारा १
यस सन्धिले परिवर्तन गरेकाबाहेक अहिले बेलायत सरकार र नेपालका श्री ५ महाराजधिराजका बीचमा लागू रहेका सबै सन्धिहरु र प्रतिज्ञाहरु यसद्धारा अनुमोदन गरिन्छन् ।
धारा २
सन् १८१५ मा नेपाल राज्यको अधीनमा रहेका र त्यसै वर्षको २ डिसेम्बरका दिन सुगौलीमा सम्पन्न सन्धिको तेस्रो धाराद्धारा बेलायत सरकारलाई परित्याग गरिएका काली र राप्ती नदीहरुका समस्त समतल भूमिहरु र राप्ती नदी र गोरखपुर जिल्लाका बीचमा पर्ने समस्त समतल भूमिहरु बेलायत सरकारद्धारा नेपालका श्री ५ महाराजधिराजलाई पूर्ण सार्वभौमिकताका साथ अर्पण गर्दछ ।
धारा ३
सीमा निर्धारणका लागि नियुक्त बेलायती आयुक्तहरुद्धारा सर्वेक्षण गरिएको काली वा शारदा नदीदेखि पूर्वतर्फ फैलँदै गएको बगौरातालदेखि उत्तरका पहाड पहाडहरुको फेदिसम्म पुगेका स्तम्भहरुले अंकित गरिएको सिमानाको रेखा अबदेखि नेपालका श्री ५ महाराजधिराजका इलाकाहरु र अबधको बेलायती प्रान्तका बीचको सिमाना हुनेछ ।
ब्रिटिस–भारतका भाइसराय र महाराज्यपाल महामहिम सम्मानीय चाल्र्स जन, अर्ल म्यानिङ, जी. सी.बी. का तर्फबाट लेफ्टनेन्ट कर्णेल जर्ज ¥याम्जेद्धारा र श्री ५ महाराजधिराज सुरेन्द्रविक्रम शाह, बहादुरशम्शेर जङ्गका तर्फबाट महाराज जङ्गहादुर राणा, जी.सी.बी.द्धारा हस्ताक्षर गरिएको यस सन्धिको अनुमोदन गरिनेछ र हस्ताक्षर गरिएको तीन दिनभित्र काठमाडौंमा अनुमोदनहरु आदान–प्रदान गरिनेछ ।
१ नोभेम्बर १८६० तदनुसार सम्बत् १९१७ कार्तिक वदी ३ का दिन काठमाडौंमा हस्ताक्षर गरियो र मोहर लगाइयो ।
जी. ¥याम्जे, लेफ्टनेन्ट कर्णेल,
नेपालमा आवासीय प्रतिनिधि
क्यानिङ
भाइसराय तथा महाराज्यपाल
यो सन्धि महामहिम महाराज्यपालद्धारा १५ नोभेम्बर १८६० का दिन कलकत्तामा अनुमोदन गरियो ।
ए.आर.यङ
ब्रिटिस–भारत सरकार उपसचिव
(एस.सी. २÷१६ मा संलग्न गरिएबमोजिम)
No comments:
Post a Comment